नियम १७
परिषद्को बैठक सम्बन्धी कार्यविधि

(१) परिषद्को बैठक आवश्यकता अनुसार बस्नेछ ।

(२) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(३) सदस्य सचिवले परिषद्को बैठकमा छलफल हुने विषयको कार्यसूची सहितका सूचना परिषद्का सबै सदस्यहरुलाई बैठक हुनुभन्दा कम्तीमा चौविस घण्टा अगावै दिनु पर्नेछ ।

(४) परिषदमा कायम रहेको सदस्य संख्याको कम्तीमा पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(५) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा परिषद्का सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले परिषद्को बैठकको अध्यक्षता गर्नेछ ।

(६) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(७) परिषद्को बैठकको निर्णय सदस्य सचिवद्वारा प्रमाणित गरिनेछ ।

(८) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।